Friday, April 17, 2009

माओवादी लडाकूहरुका लागि आचारसंहिता

Newsplus,

माओवादी सेनाको समायोजन रेखदेख र पुनर्स्थापनाका लागि बनेको प्राविधिक समितिले माओवादी सेनाका लागि आचार संहिता निर्माण गरेको छ। सि‌हदरबारस्थित शान्ति मन्त्रालयमा बिहीबार बसेको प्राविधिक समितिको वैठकले आचार संहिता निर्माण गरेको हो। माओवादी लडाकूहरुको रेखदेख सम्बन्धी विशेष समितिले उनीहरूकालागि आचारसंहिता बनाउने निर्णय गरेको छ। समितिका एकजना सदस्यले बताएअनुसार तत्काल लडाकूहरुले पालना गर्नुपर्ने आचारसंहिता बनाउन सो उच्चस्तरीय समिति सहमत भएको छ। माओवादी लडाकूहरुको रेखदेख समायोजन र पुन:स्थापनाको लागि गठित विशेष समितिको मंगलबारको बैठकमा गए साता सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा माओवादी सेनाको टोली सहभागी गराउँदा समितिलाई जानकारी नगराइएकोमा केही सदस्यहरुले प्रधानमन्त्रीको तिखो आलोचना गरेका थिए।
विशेष समितिको आफ्नै आचार संहिताले समितिका प्रवक्ता बाहेक अन्यलाई सार्वजनिक टिप्पणीगर्न रोक लगाएको छ।विशेष समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार व्यवस्थापिका संसदमा बोल्दै माओवादी लडाकूहरुको रेखदेख समायोजन र पुन:स्थापना कार्य आगामी असार मसान्तसम्म सक्ने बताएका थिए।
बिहीबार विशेष समितिको बैठकमा सो कार्यलाई सघाउन आवश्यकता अनुसार विज्ञ तथा प्राविधिकहरुलाई राख्ने सहमति भएको छ।
देशभर छरिएका विभिन्न अस्थायी शिविरहरुमा रहेका करिब २० हजार माओवादी लडाकूहरुको समायोजन र पुन:स्थापना शान्ति प्रक्रियाको एउटा प्रमुख चुनौतीकोरुपमा रहेको छ।
सो कार्यलाई सहज तुल्याउन प्रधानमन्त्रीको अध्यक्षतामा गठित विशेष समिति र त्यस अन्तर्गत एउटा उपसमिति अहिले सक्रिय देखिएको छ।